गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई तथा एम्बुलेन्स सेवा

स्वास्थ्यमा फड्को मार्दै गंगाजमुना

A notice in Nepali from Mechinagar Ward No. 10

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ धुसेनीकी २४ वर्षीया सिमा तामाङलाई सुत्केरी व्यथा लागेपछि गत माघ १७ गते राती स्वास्थ्य चौकीमा उपचारका लागि लगियो । तर स्वास्थ्य अवस्था गम्भीर र तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले उपचार सम्भव भएन । महिलालाई गाउँपालिकाको सिफारिसमा निःशुल्क रुपमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो र उपचार सम्भव भयो । गाउँपालिकाले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार हवाई सेवा पाइन ।

गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई मध्यनजर गर्दै यस वर्ष हवाई उद्धारका लागि ६ लाख बजेट विनियोजन गरेको छ । सात वटै वडामा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलालाई तत्कालै अस्पताल पुर्‍याई जीवन रक्षा गर्ने उद्देश्यले हवाई सेवा र तीनवटा स्वास्थ्य चौकीका लागि दुई वटा एम्बुलेन्स सेवा सुचारु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए । ‘भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन असहज छ, सुत्केरी, गर्भवतीका लागि झनै समस्या छ’, स्वास्थ्य संयोजक अधिकारीले भने, ‘स्वास्थ्य सेवा नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै खर्चमा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलाको नि:शुल्क एम्बुलेन्स सेवादेखि हवाइ उद्धारको सेवा सुरु गरेको हो ।’

समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा समस्या भोग्दै आइरहेका छन् । नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै गंगाजमुना गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निशुल्क रुपमा हवाई तथा एम्बुलेन्स सेवा सुरु गरेको छ । गर्भवती र सुत्केरी बाहेकका अन्य व्यक्तिलाई भने सशुल्क सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले तीनवटा स्वास्थ्य संंस्थाका लागि दुई वटा एम्बुलेन्स खरिद गरि स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरेको छ । ग्रामीण अस्पताल फूलखर्कको लागि एक वटा, बसेरी र बुढाथुम स्वास्थ्य चौकीका लागि एक वटा गरी दुई वटा एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको स्वास्थ्य संयोजक अधिकारीले बताए । कुल २१ लाख एक हजार नौ सय ६० रुपैया लागतमा दुई वटा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्सभित्र प्राथमिक स्वास्थ्य सामग्री, अक्सिजनसहितका सेवा रहेको उनले बताए ।

घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेका धेरै घटनाहरु छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने सन्देश दिन पनि हवाई तथा एम्बुलेन्स सेवा संचालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद रोकाले बताए । ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार ‘जिरो होम डेलिभरी’ अभियानलाई साकार बनाउने लक्ष्य अनुसार हवाई तथा एम्बुलेन्स सेवा विस्तार गरेका हौँ’, प्रमुख प्रशासकीय अधिकृत रोकाले भने, ‘हवाई तथा एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित बनाउन हवाई तथा एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन निर्देशिका पनि बनाएका छौँ ।’

जिल्लाको गंगाजमुना गाउँपालिका उत्तरी भेगमा पर्दछ । गाउँपालिकाको सबै क्षेत्र सडक सञ्जालसम्म जोडिएपनि बाह्रै महिना चल्ने पक्की सडक भने छैन । बाह्रै महिना सडक संचालन र एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सडक स्तरोन्नतिको कार्य गरिरहेको छ । पक्की सडक नहुदाँ गंगाजमुनाबासी एम्बुलेन्स सेवाबाट टाढा थिए । एम्बुलेन्स सेवा सूचारु भएसँगै स्वास्थ्य सेवामा पनि फड्को मार्ने आशा लिइएको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताए । घरघरमा नै प्रसुति हुने क्रमलाई घटाउन गाउँपालिकाले स्वास्थ्य संस्था सम्म लैजान एम्बुलेन्सको सेवा प्रवाह गरिएको उनले बताए ।

समयमै उपचार नपाएका कारण नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले बताए । ‘गाउँपालिकाले गर्भवती, सुत्केरी, नवजात शिशु तथा आमा सुरक्षा कार्यक्रम मार्फत आम नागरिकलाई अनुभुति हुने गरि कार्यक्रम अघि सारेको छ’ अध्यक्ष अधिकारीले भने, ‘गाउँपालिकाको यस्ता कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने योजनालाई सहयोग पुर्‍याउने आशा लिएका छौँ ।’

स्वास्थ्य संस्थाहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले गर्भवती र सुत्केरी महिलाहरुलाई नि:शुल्क हवाई सेवा र एम्बुलेन्सले निशुल्क सेवा प्रवाह गर्ने बताए । गभर्वती तथा सुत्केरी महिलाहरुमा जुनसुकै बेला जटिल अवस्था आउने भएकाले गाउँ गाउँमा तत्काल उपचार सम्भव पनि नहुने र आउन जानको लागि समय धेरै खर्च हुँदा ज्यान नै जान सक्ने अवस्थालाई मध्यनजर गरेर गर्भवती महिला लक्षित सेवा सुरु गरिएको गाउँपालिकाको भनाई छ । नागरिकले पाउने आधारभूत आवश्यकताका विषयदेखि शिक्षा, स्वास्थ्य लगायतका विषयमा समान सहभागीताको सुनिश्चितताका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष अधिकारीले बताए ।

गाउँपालिकाभित्र एउटा ग्रामीण अस्पताल, चार वटा स्वास्थ्य चौकी र चार वटा सामुदायिक स्वास्थ्य इकाईबाट स्वास्थ्य सेवा संचालन भएका छन् । सबै स्वास्थ्य संस्थामा नेपाल सरकारले निशुल्क रुपमा तोकेको औषधी उपलब्ध छ भने पालिकाकै पहलमा ल्याव सेवा पनि संचालनमा छ । बागमती प्रदेश सरकारले सहयोगमा ‘मातृ तथा बाल बचाउ’ कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु पनि संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.