३ चैत, मेचीनगर : स्वर्गीय सूर्य गौतमको १६ औँ स्मृति दिवसका अवसरमा बिहीबार विर्तामोडमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय रामचोक युवा समूहले ‘रक्तदान जीवनदान’ नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको स्वर्गीय गौतमकी दिदी प्रमिला गौतमले जानकारी दिनुभयो । रामचोक सामुदायिक वन उपभोक्ता समिति –सह आयोजक तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
२०६२/०६३ को जनआन्दोलताका २०६२ चैत्र ३ गते झापा मेचीनगर—६ काँकरभिट्टा मेची भन्सार चेकपोष्ट अगाडि तत्कालीन माओवादी र सुरक्षाकर्मीको बीच भएको वारदातमा सडक यात्री झापा बिर्तामोड हाल विर्तामोड—३ निवासी झापा चारआली चोकका फेन्सी स्टोर सञ्चालक एवम् स्थानीय लोकप्रिय क्रिकेट खेलाडी सूर्य गौतम माथि सुरक्षाकर्मीले अन्धाधुन्ध चलाएको गोली लागि निधन भएको थियो ।
उनको निधन भएको दिनको स्मृतिमा रामचोक युवा समूहद्वारा हरेक वर्ष ‘रक्तदान जीवनदान’ नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
रामचोक युवा समूहका अध्यक्ष भगिरथ लुइटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष नरेन्द्र संग्रौलाले प्रमुख अतिथिको आसनबाट बोल्दै स्व. सूर्य गौतमको सामाजिक एवम् खेल व्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
उहाँले कुनै समय सरकारी गाडीको ठक्करबाट निधन भएका व्यक्तिको समेत स्थानीय आन्दोलनको जोडमा सहिद घोषणा गरिएको घटना स्मरण गर्दै जनआन्दोलनका क्रममा अन्यायपूर्वक सेनाले गोली हानी हत्या गरिएका स्व.सूर्य गौतमलाई सहिद घोषणा गर्न पटक पटक गरिएको नागरिक आग्रहको राज्यले बेवास्ता गरिरहेको र नाम मात्रको राहत दिई कर्तव्यबाट पन्छिन खोजेको टिप्पणी समेत गर्नुभयो ।
साथै पीडित परिवारजनलाई ढिलोछिटो स्व. भाइ सूर्यलाई सहिद घोषणा गर्न राज्य बाध्य हुने कुरा सुखानी सहिदहरुको उदाहरण दिँदै आस्वस्त बनाउने कोशिश गर्नुभयो । कार्यक्रममा स्थानीय समाजसेवी एवम् बुद्धिजीवीहरु बद्री भट्टराई, कमल मिश्र, दीनानाथ सिग्देल लगायतले कार्यक्रम एवम् स्मृति दिवसको महत्व माथि बोल्नुहुँदै स्व. गौतम प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
दीक्षा तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा युवा समूहका तर्फबाट पंकज सिग्देलले स्वागत मन्तव्य र परिवारका तर्फबाट स्व. गौतमका भिनाजु टिकेन्द्र खनालले कार्यक्रमको औचित्य र भावि योजना माथि प्रकाश पार्नुभएको थियो।























