१ वैशाख, मेचीनगर : आज विक्रम संवत् २०८० साल वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए।
‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्छ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,’ उनले भने।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको उनको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता तथा असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्छन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि स १९६१ देखि वैशाख १ गतेलाई नयाँ वर्षकाे रुपमा मनाउने चलन सुरु गरेका थिए ।
आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

























