धरान । धरानमा भोलिदेखि कोरोना विरुद्धको अमेरिकन जोनसन एण्ड जोनसन खोप लगाइँदैछ ।
सोमबार साँझ धरान उपमहानगरपालिकामा १ हजार भायल जोनसन एण्ड जोनसन खोप आइपुगेको छ । १ भायल बराबर ५ डोज हुने भएकोले धरानका ५ हजार जनालाई पुग्ने खोप आइपुगेको जनाइएको छ ।
५० वर्ष देखि ५४ वर्ष उमेर समूहकालाई, अपाङ्ग, अशक्त र छुटेका स्वास्थ्यकर्मी, विदेश जानेहरू र सफाइकर्मीलाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् ।
यस पटक धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गर्नका लागि केही दिन अघि धरानका मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार धरानमा तीन चरणमा खोप अभियान सञ्चालन हुनेछ ।
जस अनुसार पहिलो चरणमा ७ वटा वडाका लक्षित समूहलाई एक दिन लाईदैछ भने दोस्रो दिन ६ वटा वडा र तेस्रो दिन ७ वटा वडा गरी २० वटै वडामा एक एक दिन वडा कार्यालयले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने बताइएको छ ।
खोप अभियानलाई व्यवस्थित गर्नका लागि धरानका २० वटै वडामा समन्वय तथा सहजीकरण समिति गठन भएको छ भने स्वास्थ्य कार्यालयका कर्मचारीहरूले पनि खोप अभियानमा सक्रियरुपमा खटेर काम गर्ने निर्णय भएको छ ।
खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने छ ।