इटहरी । प्रायजसो सुनसरी इटहरीका पत्रकार र इटहरी उपमहानगरका जनप्रतिनिधि बीच भनाभन भइरहन्छ । केही वर्ष अघि इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीले पत्रकारहरुलाई गाली गलौज गर्दै भौतिक कारवाही गर्नेसम्म चेतावनी दिए । यसपाली पनि नगर उप-प्रमुख लक्ष्मी गौतमले पत्रकारलाई गाली गलौज गरेपछि पत्रकारहरुसँग माफी मागेकी छिन् । गत जेठ २ गते इटहरी अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका सुनसरीका पत्रकारहरुसहित अन्य सर्वसाधारण भएको सार्वजनिक स्थलमै उनले पत्रकारहरुलाई हुँदै नभएको लाञ्छना लगाउँदै गालीगलौज गरेकी थिइन् ।
पत्रकारहरुलाई गाली गरेकी गौतमले घटनाको तीनदिनपछि गल्ती स्वीकार गर्दै माफी मागेकी हुन् । आफ्नो आशय दुर्वयवहारको नभइ अन्यथा अर्थ लागेको भन्दै उनले शनिबार माफी मागेकी हुन् । पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईका अनुसार शनिबार धरानमा अध्यक्ष राई, महासंघ सुनसरीका सह–सचिव भोला श्रेष्ठसहित बसेको पदाधिकारीसँगको छलफलका क्रममा उप-प्रुमुख गौतमले आफ्नो गल्ती स्वीकार गरेकी हुन् ।
महासंघ सुनसरीका सचिव ध्रुव ढकालका अनुसार उपप्रमुख गौतमले पत्रकारहरुलाई गाली गलौज गरी तीन घण्टासम्म खोप कार्यक्रम अवरुद्ध गरेकी थिइन् ।
पत्रकार महासंघ सुनसरीको पहलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग समन्वय गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीबाट पत्रकारहरुका लागि तीन सय ६५ डोज खोप उपलब्ध गराइएको थियो । प्राप्त खोप मध्ये दुई सय २३ जना पत्रकारहरुले कोरोना बिरुद्धको खोप लगाएका थिए ।

























