सामान्यतया पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्यलाइ जनाउछ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । तर, सरल भाषामा पर्यटन भनेको मानिसहरू आफ्नो सामान्य दैनिक वातावरण वा बसोबास गर्ने ठाउँभन्दा बाहिर, विभिन्न उद्देश्यहरू (जस्तैः मनोरञ्जन, व्यापार, अध्ययन, स्वास्थ्य उपचार, तीर्थयात्रा, आफन्त वा साथीभाइ भेटघाट आदि) का लागि अस्थायी रूपमा यात्रा गर्ने र बस्ने प्रक्रिया हो ।
सामान्यतया, पर्यटन हुनका लागि मुख्यः गरी तीनवटा कुराहरू समावेश हुन्छन । यात्रा : व्यक्ति आफ्नो स्थायी बसोबासको ठाउँभन्दा बाहिर जानुपर्छ । अस्थायी बसाइ : यात्रा निश्चित अवधिका लागि हुनुपर्छ, सामान्यतया २४ घण्टाभन्दा बढी तर लगातार एक वर्षभन्दा कम । उद्देश्य : यात्राको उद्देश्य मनोरञ्जन, व्यापार, सम्मेलन, अध्ययन, स्वास्थ्य, धर्म, खेलकुद, वा केवल घुमफिर हुन सक्छ। आफ्नो स्थायी बसोबासको ठाउँमा नियमित काम गरेर आय आर्जन गर्ने उद्देश्यले गरिएको यात्रालाई पर्यटन मानिँदैन ।
आन्तरिक पर्यटन, देशको सिमानाभित्रै एक ठाउँबाट अर्को ठाउँमा गरिने यात्रा ।अन्तर्राष्ट्रिय पर्यटन : एक देशबाट अर्को देशमा गरिने यात्रा । आगमन पर्यटन : विदेशी नागरिक आफ्नो देशमा भ्रमण गर्न आउनु र बहिर्गमन पर्यटन : आफ्नो देशका नागरिक विदेश भ्रमणमा जानुलाई पर्यटनका मुख्य प्रकारहरूका रुपमा लिईन्छ ।
आर्थिकः विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बिक्री, सरकारी राजस्व वृद्धि, सामाजिकः विभिन्न संस्कृति र मानिसहरूबीच समझदारी र सम्बन्ध विस्तार, सांस्कृतिकः स्थानीय कला, संस्कृति, र परम्पराको प्रवद्र्धन र संरक्षणमा सहयोग, पूर्वाधार विकासः पर्यटकको सुविधाका लागि यातायात, सञ्चार, आवास जस्ता पूर्वाधारहरूको विकासलगायत का रुपमा पर्यटनको महत्वलाई लिने गरीन्छ ।
यस्ता पर्यटकहरुलाई सःशुल्क घुमाउने, आवासको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ । यस्तो व्यवसायलाई पर्यटन व्यवसाय वा पर्यटन उद्योग भनिन्छ । पर्यटक भन्ने शब्द सन् १७७२ मा र ‘पर्यटन’ भन्ने शब्द सन् १८११ मा प्रयोग भएका हुन् । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो ।
कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । त्यसका लागि ‘रमणीय कोशी’ भन्ने नारा तय गरिएको छ । तेह्थुमको लालीगुरास नगरपालिका —१ आरआर गार्डेनबाट उपप्रधानमन्त्री प्रकाशमान सिहंले यसको शुभारम्भ गरीसकेका छन् । सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । तर, कोभिड–१९ बाट विश्व नै आक्रान्त बनेपछि त्यसले पूर्णता पाउन सकेन । अहिले पनि कोभिडकै कारण थला परेका पर्यटन व्यवसाय पुरानो लयमा फर्किन सकेका छैन । थुप्रै पर्यटन व्यवसायीहरुले यो व्यवसायबाट हात धोए । कति विदेशिए, कतिले वैकल्पिक पेशा रोजे ।
नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ र पर्यटनबाट लाखौं मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । तर, पछिल्लो समय यो व्यवसाय नै संकटमा परेको छ । पर्यटन विकासका अथाह सम्भाव्यता बोकेको भए पनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन सकेको छैन ।
कोशी प्रदेश सरकारले १५ लाख पर्यटक भित्रियाउने लक्ष्यसहित वि.स. २०८२ लाई ‘कोशी पर्यटन वर्ष २०८२’ घोषणा गरेर सुस्ताउँदै गएको कोशी प्रदेशको पर्यटनक्षेत्रलाई चलायमान बनाउन खोज्नु आफैमा सुःखद पक्ष हो । त्यसमा पनि पर्यटन व्यवसायीहरुका लागि त झनै खुशीको कुरा हो । यसका लागि कोशी प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।
पर्यटन वर्ष २०८२ मा भारत, चीन, बङ्गलादेश र भुटानका पर्यटक कोशी प्रदेशमा भित्राउने प्रदेश सरकारले लक्ष्य लिएको र त्यो लक्ष्य पुरा गर्न हरेक पर्यटन व्यवसायीहरुको समेत भूमिका निक्कै ठुलो हुन्छ । त्यसकारण आजैबाट पर्यटन व्यवसायीहरु त्यसतर्फ लाग्नुपर्ने देखिन्छ ।
कोशी प्रदेश अन्य प्रदेशको तुलनामा पर्यटनकाक्षेत्रमा निक्कै समभावना बोकेको प्रदेश पनि हो । पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामु चिनाउँन सक्दा कोशी प्रदेशलाई चाडैं समृद्धिको यात्रामा अघि बढ्न मद्धत पुग्छ र पुर्याउन पनि सकिन्छ । नेपालको सबैभन्दा होचो भू–भाग झापाको केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा रहनुले पर्यटकीय विकास र सम्भावनाका आधारहरु प्रशस्त रहेको स्पष्ट छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् भन्ने कुरामा विश्व नै जानकार छ । कोशी प्रदेशलाई प्राकृतिक, धार्मिक र सांस्कृति पर्यटनको गन्त्वयका रूपमा विकास गर्न सकिन्छ भन्ने सोचका साथ सरकार पर्यटनकर्मीसहित निजिक्षेत्र अघि बढ्ने हो भने यो असम्भवनै छैन् । कोशीमा साहसिक पर्यटनको सम्भावना पनि उत्तिकै छ भनेर कसैलाई भन्न नै पदैंन यसमा हामी कोहि पनि अनविज्ञ छैनौं ।
कोशीमा विभिन्न हिमश्रृखलादेखि सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता प्रकृतिक एवम् पाथीभरा, वराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहांग, हतुवागढ़ी, बिराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुङ्ग पोखरी, सभापोखरी, गुफापोखरीजस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरु छन् भन्ने कुरा कसलाई थाहा छैन् ?
पोकली, नमस्ते, ह्यात्रुङ झरना, कन्याम, श्रीअन्तु, नाम्जे, पाताले, भेडेटार, हिले, तीनजुरे मिल्के, जलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय गन्तव्य कोशीमै पर्छन् भनेर थप हामीले प्रचार प्रसारलाई तीब्र पारौं । यी सारा कुराले गर्दा हामीले कोशी प्रदेशलाई मुलुककै पर्यटन ‘हब’ का रुपमा अघि बढाउन सक्छौ । अझ हामी सुस्ताउँदै गएको पर्यटनक्षेत्रलाई चलायमान बनाउने हो र पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्दै युवाहरुको विदेश पलायन रोक्न सक्छौ त्यसतर्फ हामी लाग्न पनि जरुरी छ । निजिीक्षेत्र र पर्यटन व्यवसायीको साथ लिएर सरकार पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्ने हो भने यो पर्यटन वर्ष सहजरुपमा लक्ष्यमा पुग्ने छ ।
अहिले हामी संघीयताको अभ्यासमा पनि छौ । देशमा तीन तहको सरकार छ । संघीय, प्रदेश र स्थानीइ सरकार निजि र पर्यटन व्यवसायीहरुको सहकार्य, समन्वय र सहयोगमा पर्यटन क्षेत्रका पूर्वाधारको विकास र सुधारमा लाग्नुपर्छ । संरचनाहरुको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोज्ने वर्ष पनि हो सरकारले घोषणा गरेको कोशी पर्यटन बर्ष २०८२ । जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्रियाउनन सकिन्छ त्यसका लागि सञ्चार माध्यमदेखि सवैक्षेत्रको योगदान पनि आवश्यक छ ।
पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको छ । गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के, जलजले (टिएमजे) सहित ८२ वटा पर्यटकीय स्थलहरूको पर्यटकीय गन्तव्य तोकेको छ । टिएमजे क्षेत्रको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजाति एकै ठाउँमा हेर्न पाइनु नै हो । टिएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस हेरेर पर्यटकहरूले आनन्द लिने छन् । यी गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सरकारले दिर्घकालीन रणनीति अपनाउनु पर्छ र यी ठाउँमा मात्र हामीले पर्यटक पुर्याउन सक्यौ भने वा विक्री गर्न सकेमात्र आर्थिक गतिविधिमा बृद्धि भएर पर्यटकको चहल पहल समेत बढ्नेमा दुईमत छैन् ।
पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार तयार भएर मात्र नहुने र यसमा निजि क्षेत्र पनि उत्तिकै तयार रहनुपर्ने मेरो ठहर छ । त्यसकारण सरकारका हरेक काममा निजिक्षेत्रले सघाउनुपर्छ र सघाउन तयार हुन आवश्यक छ भन्ने मेरो बुझाई हो । प्रदेशभरका पर्यटन क्षेत्रको पहिचान गरी त्यसको प्रवद्र्धन र विकासमा सरकारलाई सघाउनुपर्छ । पर्यटका लागि निजि क्षेत्र तत्पर रहनुपर्छ । सरकारले पनि पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेर यी गन्तव्यहरूको विकास, संरचना निर्माण र प्रचारमा विशेष ध्यान दिन आवश्यक छ ।
पर्यटनक्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र पर्यटन उद्योग हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो । पर्यटन उद्योग पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ ।
कोशी भ्रमण वर्ष २०८२’ कोशी प्रदेशको भविष्यका लागि एक महत्वपूर्ण अवसर हो । तर यसको सफलता सुनिश्चित गर्न प्रदेश सरकारले पर्यटन व्यवसायीहरूलाई विश्वासमा लिनु, उनीहरूको ज्ञान र अनुभवको कदर गर्नु, र योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक चरणमा अर्थपूर्ण साझेदारी गर्नु अपरिहार्य छ । व्यवसायीहरूलाई पाखा लगाएर वा उनीहरूसँग नाम मात्रको सहकार्य गरेर अघि बढ्दा यो महत्वाकांक्षी अभियान केवल सरकारी घोषणामा सीमित हुने र अपेक्षित सफलता हासिल गर्न नसक्ने जोखिम उच्च रहन्छ। तसर्थ, प्रदेश सरकारले तत्काल पर्यटनसँग सम्बन्धित सबै सरोकारवाला, विशेषगरी निजी क्षेत्रका व्यवसायीहरूसँग घनिभूत छलफल गरी सहकार्यको स्पष्ट खाका बनाएर अगाडि बढ्नु भ्रमण वर्षको सफलताका लागि अनिवार्य शर्त हो ।
एक मजबूत सार्वजनिक–निजी साझेदारीले मात्र ’कोशी भ्रमण वर्ष २०८२’ लाई साँच्चै सफल र स्मरणीय बनाउन सक्छ यसकारण पनि कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष २०८२ लाई सफल पार्नु हाम्रो पनि जिम्मेवारी त्यही जिम्मेवारी पुरा गर्न हामी लागौं । अन्त्यमा कोशी प्रदेश सरकारले निक्कै तामझामका साथ घोषणा र शुभारम्भ गरेको ‘कोशी पर्यटन वर्ष’ २०८२ त्यसका लागि गरिएको नारा ‘रमणीय कोशी’ व्यानर र नारा अनि घोषणामात्र सिमित नहोस । ‘कोशी पर्यटन वर्ष २०८२’ को शुभकामना छ ।
[श्रेष्ठ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ‐नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष र अनुभवी पर्यटन व्यवसायी समेत हुन]
पर्यटन सुस्ताएकाे हाेईन सन्सारका धेरै देशहरुले समयानुकुल पर्यटकिय गन्तब्यहरुकाे बिकाश गरे अन्तत तिनै पर्यटक सबैति बाँडिदा सुस्ताएकाे हाेकि भन्ने भान परेकाे हाे ।